धनुषामा जन्ती सवार बस दुर्घटना, १५ जना घाइते

काठमाडौं— धनुषामा जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो।
आइतबार राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक फरार छन्।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ ०९:१९













