News Griha :: न्यूजगृह
आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

काठमाडौं— एकीकृत समाजवादीको महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र सुरु भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा सोमबार बिहानबाट बन्द सत्र सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। पार्टीको ८९ औँ सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो।

प्रवक्ता खतिवडाका अनुसार महाधिवेशनबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने भनिएको थियो।

पार्टीमा एक अध्यक्ष र एक महासचिव रहने व्यवस्था छ। आवश्यकताअनुसार वरिष्ठ नेताको पद सिर्जना हुन प्रवक्ता खतिवडाले बताए। एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल उठ्ने चर्चा छ।

अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई भनेका छन्। खनालले आफू प्रतिस्पर्धा नगरेको खण्डमा भुसाललाई समर्थन गर्ने भनेका छन्।

प्रवक्ता खतिवडाले सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गर्न पहल भइरहेको बताए।

महाधिवेशन असार २० गतेसम्म चल्नेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:४८
Weather Update