
काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। देशका केही स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ। धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
मंगलबार देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आगामी बिहीबारसम्म वर्षाको सम्भावना
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको मौसम विज्ञान विभागको भनाइ छ। यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो। सो न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि सोमबारदेखि बिहीबारसम्म सतर्कताको सूचना जारी गरेको हो।
विभागका मौसमविद्हरूका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।













