News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन दलहरूको बैठक, एजेण्डा मन्त्रिपरिषद् हेरफेर
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। यही विषयमा छलफल गर्न  सत्ता गठबन्धन दलहरूको बैठक बोलाइएको हो।

प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी (जपा) र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्ड आतुर छन्। स्रोतका अनुसार कुनै घटनाले परिस्थितिमा परिवर्तन नआए मंगलबार मन्त्रिपरिषद् हेरफेर हुनेछ।

‘केहिदिनमा मन्त्रिपरिषद् हेरफेर हुन्छ। मंगलबार शपथ गर्ने गरी सहमति बनेको छ,’ स्रोतले भन्यो, ‘सोमबार साँझ गठबन्धन बैठक बस्छ, त्यसपछि निर्णय हुन्छ।’

नाउपालाई नेकपा माओवादी केन्द्रले सम्हालिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दिने सहमति जुटिसकेको स्रोतले बताएको छ। नाउपाले पाएको भागमा अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निश्चित छ।

यस्तै, जपाबाट अध्यक्ष चन्द्रकान्त (सीके) राउत आफै मन्त्री बन्ने सम्भावना छ। यद्यपि, अहिलेसम्म उनले पाउने मन्त्रालय टुंगो लागिसकेको छैन।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ।

त्यसअघि पनि राजदूतको भागबन्डा गर्न असार ६ गते तीनै नेता छलफलमा बसेर समझदारी जुटाएका थिए। अब सोमबार मन्त्री हेरफेरमा समझदारी जुटाएर मंगलबार नै नियुक्ति र शपथ गराउन लागिएको हो।

तर, शनिबारदेखि राजनीतिमा केही नयाँ घटनाक्रम पनि विकास भएका छन्।

शनिबार एमाले अध्यक्ष ओली निवास बालकोटमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। आरजु देउवासँगै भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ।

कांग्रेस र एमाले दुवै तर्फबाट भेटवार्ताका विषय खुलाइएको छैन।

यद्यपि, गठबन्धनमा समस्या पर्ने विषयमा छलफल नभएको जवाफ ओलीले नेताहरूलाई दिएका छन्। सोमबार सिंहदरबारमा निकै प्रफुल्ल ‘मुड’मा देखिएका ओलीले सञ्चारकर्मीहरूसँग यत्ति मात्र भने, ‘भेटघाट भइराख्या’छ। भेटघाटपछि भेटघाट। भेटघाटको सिलसिलासँगै भेटघाट।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:०१
Weather Update