
काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले गलत सूचना प्रवाह गरेको भन्दै फ्लाइ दुबईका दुई जना मेनेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
प्राधिकरणले मंगलबार उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय पारेको छ । सोमबार राति फ्लाई दुबई फ्लाइट नम्बर 'एफडीजेड ५७६ (बी७३७-८००)' काठमाडौं-दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको भन्दै उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाउँदै एअरपोर्ट पास निष्क्रिय पारिएको प्राधिकरणले जानकारी दिएको छ ।
हिजो राति काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको उक्त जहाजको एउटा इन्जिनमा समस्या आएको थियो । जसका कारण आगोको झिल्का देखिनुका साथै ठुलो आवाज सुनिएको थियो ।
उक्त विमानमा समस्या देखिएपछि नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणका लागि आकस्मिक व्यवस्थापन गरिएको थियो । तर, विमान चालकले फ्लाई दुबईको जहाज धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाइ 'होल्ड' गरेर विमानको सबै इन्डिकेटरको चेकजाँच गरेपछि थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएको जानकारी गराएका थिए । विमानस्थलको टावरका एअर ट्राफिक कन्ट्रोलर (एटीसी)ले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए ।
प्राविधिक समस्या देखिएको उक्त जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको फ्लाई दुबईले जनाएको छ ।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाजमा चरा ठोक्किएको कुरा पुष्टि हुन नसकेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले भनेका छन्, 'जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । कृपया मेरो सबैमा बिन्ती छ नकारात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौँ ।'
हिजो रातीको Fly Dubai flight no. FDZ576 (B737-800) काठमाडौँ-दुबई उडानमा bird strike भएको भनेर भ्रमपूर्ण समाचार फैलाएकोले Fly Dubai का Country Manager र Airport Manager लाई विमानस्थल प्रवेशमा रोक लगाई निजहरूको airport pass समेत निष्क्रिय पारिएको छ। pic.twitter.com/naoFp9QWOS
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) April 25, 2023













