News Griha :: न्यूजगृह
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन्। उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए।

गृहमन्त्री लामिछानेले नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको उच्चस्तरिय प्रतिनिधिमण्डलसँग छलफलको क्रममा उक्त कुरा बताएका हुन्। साथै उनले सहकारी अभियानको माग सम्बन्धमा आवश्यक अध्ययन गरी गृहमन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिए।

उक्त क्रममा सहकारी अभियानको तर्फबाट महासंघका अध्यक्ष मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा अराजक समूहले अवरोध पुर्याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराइन्।

साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की आएको, धितो लिलामी प्रकृयामा अवरोध सिर्जनालगायतका कार्यले सहकारी संघ संस्थाको चालू आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयबाट परिपत्र गरी दिन माग राखेकी थिइन्।

महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेलले सहकारी संघ संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए।

प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष डिबी बस्नेत, सञ्चालक काशिचन्द्र बराल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहांङ सुब्बा लगायतको सहभागिता रहेको थियो भने छलफलमा क्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी क्षेत्रको समस्या समाधानका लागि गर्नुपर्ने विषयमा कुरा राखेका थिए।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १९:०५
Weather Update