News Griha :: न्यूजगृह
प्रचण्डलाई माधवको सुझाव– ख्याल गर्नुस्, संसद् विघटन ठिक छ भन्नेले भोलि फेरि गर्दिएलान्

काठमाडौं— एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन सही प्रमाणित गर्न एमाले लागेको आरोप लगाएका छन्। 

उनको दल एकीकृत समाजवादीको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी रहेको कार्यक्रममा उनले संसद् विघटनबारे कसैले उक्साउला भन्दै सतर्क समेत गराएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले पहिले गरिएको संसद् विघटन सही भन्नेहरुले पुनः विघटनको बाटोमा जानसक्ने भन्दै सचेत गराए। 

‘प्रधानमन्त्रीज्यू अहिले पनि सुनिन्छ हामीले संसद विघटन गरेर ठिक गर्‍यौँ भन्दैछन्। हिजो विघटन गरेर ठिक गर्‍यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस्। विघटन गर्नुपर्ने आवश्यकता छैन। हामी पनि छौँ। संख्या कम छ भनेर आत्तिनु पर्दैन। जनताको भोटले पनि हुँदैन रहेछ,’ उनले भने।  

त्यस्तै उनले कम्युनिष्ट पार्टीहरुको इतिहासबारे सभामा जानकारी गराएका थिए। 

साथै आफूले १०औँ पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेपनि नआएको गुनासो गरे। उनले आफूले ओलीलाई फोन नलागेपछि पीएहरुलाई समेत गर्दा समेत कुनै रेस्पोन्स नभएको बताए। 

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको महाधिवेशन असार २० गतेसम्म हुनेछ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:२६
Weather Update