
काठमाडौं— काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन्।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन्।
कार्यक्रममा डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित भए।
तर एमालेबाट अलग भएर तीन वर्षपछि गरिएको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका नेताहरु नगएका हुन्। एसले एमालेलाई पनि निम्ता गरेको भएपनि उनीहरु कोहीपनि उपस्थित नभएको नेताहरुले बताए।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी विभाजनपछि सम्बन्ध तिक्ततापूर्ण छ। पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो।
त्यस्तै उद्घाटन समारोहमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले ओलीलाई आफैँले १०औँ पटक फोन गर्दा नलागेपछि म्यासेज गरेको जानकारी गराए। उनले ओलीलार्ई फोन नलागेपछि पीएहरुलाई समेत फोन गर्दा कार्यक्रममा उपस्थित नभएको बताए।
उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन। उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु। ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला। राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन।’
एकीकृत समाजवादीको महाधिवेशन सामूहिक रुपमा बहिष्कार गरेको एमालेले कृषि तथा पशुपन्छी बिभागको कार्यक्रम राखेको छ। नीति सम्वाद नाम दिएको सो कार्यक्रममा एमालेका सबैजसो नेताहरु उपस्थित छन्। नेकपा एसले आफ्नो १०औँ महाधिवेशन भनेर कार्यक्रम गरेपछि एमालेले त्यसमा आपत्ति जनाएको छ।
गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव आयोजना गर्दा अध्यक्ष नेपालले पनि बहिष्कार गरिदिएका थिए। ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा नेपाल अनुपस्थित थिए।