News Griha :: न्यूजगृह
प्रचण्ड भन्छन्– माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने अभियानमा छौँ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र आफ्नो पार्टी मााओवादी केन्द्रलाई एकै पार्टी बनाउने अभियानमा रहेको बताएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीको १०आँै राष्ट्रिय महाधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन्। 

उनले एकीकृत समाजवादीको नेतृत्व र आफूबीच निरन्तर समन्वय चलिरहेको बताउँदै आगामी दिनमा दुई पार्टीबीच एकता गर्नेगरी प्रयास गरिरहेको बताए। 

‘जहाँसम्म पार्टी नेतृत्व निर्माणको कुरा हो। नेकपा एकीकृत समाजवादी र माओवादीको बीचमा निर्वाचन अघि, निर्वाचनपछि र आजको मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरि नै राखेका छौँ,’ प्रचण्डले भने,‘मलाई लाग्छ यो महाधिवेशनले त्यो दिशामा पनि ठोस निर्णय गरोस्। हामी चाहन्छौँ देशका सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरु एकतावद्ध भएर जनताको आवश्यक्ता र चाहनालाई सुशासन, सामाजिक न्याय र जनताको आकांक्षालाई सम्बोधन गर्न सकियोस्।’ 

त्यस्तै उनले एकीकृत समाजवादी पार्टी निर्माणको दौरानबारे आफ्नो धारणा राखे। साथै पार्टी अध्यक्ष माधवकुमार नेपाल र आफूबीच पञ्चायतदेखि १० वर्षे सशस्त्र द्धन्द र अहिले पनि निरन्तर सहकार्यमा रहेको बताए।

एकीकृत समाजवादीको १०औँ महाधिवेशन आजबाट सुरु भएको छ। आगामी असार २० गतेसम्म चल्ने महाधिवेशनको आज कमलादीस्थित प्रज्ञाप्रष्तिष्ठनामा उद्घाटन भएको छ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:०७
Weather Update