-1719733992.jpg)
काठमाडौं— लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरुको ३ करोड बढी रकम हिनामिना भएको तथ्य खुलेको छ।
आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका सञ्चालकहरुले बचतकर्ताको निक्षेप रकम अपचलन एवं ठगी गरेको प्रहरीले जनाएको छ।
आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो।
पक्राउ गरी सार्वजनिक भएकाहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन्।
उनीहरुमाथि पुल्चोकमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ।
प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको छ। अध्यक्ष श्रेष्ठ नेपाल बैंक लिमिटेडको मुख्य कार्यालय न्यूरोडमा ३१ बर्ष चिफ म्यानेजर भएर काम गरेको, लालीगुराँसमा भने २०६१ सालमा सचिवको रुपमा दुई वर्ष काम गरेको, २०६४ उपाध्यक्षका रुपमा आठ वर्ष काम गरेको, २०७४ सालदेखि अध्यक्षको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
कार्यकारी अधिकृत भण्डारी भने २०५६ सालदेखि हालसम्म निरन्तर पुल्चोक शाखामा विभिन्न पदमा बसेर काम गर्दै आइरहेका थिए। उनी ०५६ साल असोज १५ गते म्यानेजरका रुपमा प्रवेश गरेको साथै प्रमुख कार्यकारी अधिकृत, सञ्चालक सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
भण्डारी ०६६ र २०७६ सालमा गरी दुई पटक सहकारी राष्ट्रिय विकास बोर्डको संचालक साथै राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक पदमा रहेर करिव ६ बर्ष काम गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ। सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ रहेको पनि प्रहरीको तथ्यांकमा उल्लेख छ।













