News Griha :: न्यूजगृह
रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। 

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले पेस गरेको प्रतिवेदन लगायतका विषयमा छलफलका लागि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो। उक्त बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने वा नगर्ने भन्नेबारे छलफल भइरहेको महामन्त्री ढकालले बताए। 

उनले बैठकको प्रत्यक्ष प्रसारण गर्नेबारे पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको बताए। साथै सभापति लामिछानेबाट त्यस विषयमा कुनै जानकारी नआएको समेत बताए। 

‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेका छु। हाम्रो अडिट जनताले गरुन्,’ उनले भने, ‘बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइसकेको छैन।’ 

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका छन्। 

उक्त प्रतिवेदनपछि रास्वपाको राजनीतिमा हलचल समेत आएको छ। महामन्त्री ढकालले आफ्नो राजनीतिक भविष्यसँग जोडिएको भनेको उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेका छन्। साथै उनले पार्टीले सार्वजनिक गर्नु भन्दा पहिला नै उक्त प्रतिवेदनका विभिन्न अंश बाहिर सार्वजनिक भएको भन्दै त्यसको विषयमा रास्वपाले उनलाई स्पष्टीकरण समेत सोधेको छ।  

बुधबारको बैठकमा समेत सोही विषयमा कुरा हुने र त्यसमा थप विवाद हुने देखिएकाले महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका हुन्। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:२९
Weather Update