चितवनमा चिनियाँ नागरिक मृत भेटिए

चितवन— चितवनमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्।
भरतपुर महानगरपालिका— ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनी असार १० गते देखि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।
आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको बाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए।
‘विदेशी नागरिक भएकाले अहिले हामीले सम्बन्धित दूतावाससँग समन्वय गरिरहेका छौं,’ डीएसपी रिजालले भने, ‘दूतावासको कुरा के आउँछ त्यसपछि अनुसन्धान सुरु गर्छौँ।’
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ ११:०१













