
काठमाडौं— सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए ।
‘हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौँ–खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौँ । कृषिमा वैज्ञानिकीकरण गरौँ । हामी एकातिर भन्दैछौँ । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ,’ उनले भने, ‘बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरि ठिकै हुन्छ जस्तो लाग्दछ ।’
उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए ।
उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटकपटक दोहोर्याए ।













