
बारा— जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।
कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु ।’
यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभइ त चुनाव नै लडिँदैन ।’
यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।
मतगणनाको प्राप्त मतपरिणाममा यादव चार हजार ८१३ मतान्तरसहित अग्रस्थानमा छन् । उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार २७ मत पाएका छन् ।













