News Griha :: न्यूजगृह
कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौं— सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्।

संसद् दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका हुन्। 

संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा उल्लेख छ।

संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ।

मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुख घिमिरेले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन्।

सभामुख घिमिरेले संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०९:०६
Weather Update