News Griha :: न्यूजगृह
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति भने देशभर पूर्णतया बदली रहने छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:२६
Weather Update