News Griha :: न्यूजगृह
सांसदले संसद्मा उठाएका प्रश्न वेबसाइटमा राख्न डा. तोसिमा कार्कीको माग 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरू पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् ।

संसद्मा सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरू र त्यसको अवस्थाबारे आम नागरिकले हेर्नेगरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन् । 

मङ्गलबार प्रतिनिधि सभा बैठकमा उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याइन् । 

‘सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु,’ सांसद कार्कीले भनिन्, ‘के–के प्रश्न उठे, ती प्रश्नहरूको अवस्था के छन् ? आम नागरिकले हेर्नेगरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’

उनले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गरिन् । 

सांसद कार्कीले सरकारका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्तिसमेत जनाइन् ।  

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १४:३५
Weather Update