News Griha :: न्यूजगृह
फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय, भोलि शपथ

पोखरा— सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन्।

आइतबार बिहान साढे १० बजे उनले पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

गत जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै उनी प्रदेशसभा सदस्य बनेका हुन्। उनले पाण्डेलाई विश्वासको मत दिएपछि दलले कारबाही गर्‍यो। र, मन्त्री बनेको तीन दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए।

त्यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए। असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयमा दिएको थियो। त्यसयता ऊर्जा मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हालेका छन्।

माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए। असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।

सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:३७
Weather Update