News Griha :: न्यूजगृह
संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार : भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा बाबुराम भट्टराईले तत्कालीन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गरेका छन्।

शनिबार काडमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका छन्।

उनले भने, ‘माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्थ्यो। हामी अझै १५/२० वर्षसम्म जान सक्थ्यौं। तत्कालीन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो। अपुरो संविधान छ। संविधान अुनसारका कानुन बनेका छैनन्।’

अपुरो संविधान बनेकै कारण प्रर्याप्त कानुन बनाउन नसकिएको उनको भनाइ छ। कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईको आरोप छ।

उनले भने, ‘परराष्ट्र नीति हामीले परिवर्तन गर्न सकेका छैनौं। शिक्षा नीति बनिसकेको छैन। त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन। आर्थिकका सवालमा खु्ला सिमाना भएको भारतसँग कुरै गर्दैनौं, उद्योगधन्दाहरु उहिल्लै चौपट भइसकेका छन्। पहिले उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ। त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन्। अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ। यही हो बामपन्थी सरकार, यही हो माओवादी सरकार? म कसैलाई व्यक्तिगत दोष दिन चाहन्न तर यो संरचनात्मक समस्याहरु हुन्।’

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:०६
Weather Update