काठमाडौं— भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ।
बुधबार,सीबीआईले रक्सी नीति सम्बन्धी कथित घोटालामा सोधपुछपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो।
बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले केजरीवाललाई पक्राउ गर्न सीबीआईलाई अनुमति दिएका थिए।
पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो। अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो। आज अर्थात शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो।
केजरीवाललाई मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनि लाउन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालयले (ईडी)ले पक्राउ गरेको थियो। राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो।
तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिएको थियो, त्यसपछि उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो।