News Griha :: न्यूजगृह
दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्र एसईईमा उत्तीर्ण   
फाइल तस्बिर।

दाङ— दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। 

पालिकाभित्र रहेका ८ माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका हुन्।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भए। उनले ‘वी प्लस’ ग्रेड ल्याएका छन्। सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए।

सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शङ्कर मावि खरदरियाबाट ४५ , माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसईई परीक्षा सहभागी भएका थिए। 

माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसईई दिएका थिए। यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ। 

शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए। ८ वटै विद्यालय सामुदायिक हुन्। तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन्।   

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:१३
Weather Update