News Griha :: न्यूजगृह
पूर्व राष्ट्रपति भण्डारीको खुलासाः शीतल निवासबाट नेकपा विभाजन रोक्ने प्रयास सफल भएन

काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन रोक्ने प्रयास गरेपनि आफू सफल हुन नसकेको खुलासा गरेकी छिन्। 

२०७७ सालमा नेकपा विभाजन हुँदा राष्ट्रपतीय भूमिकामा रहेकी भण्डारीले आफूले नेकपा विभाजन रोक्न रोजे पनि नसकेको बताइन्। 

शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा खुलाएकी हुन्। 

त्यो बेला (२०७७ सालमा) पार्टी विभाजन हुँदा आफूलाई पीडा बोध भएको बताइन्। ‘०७७ को कुरा हो। त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला?,’पूर्व राष्ट्रपति भण्डारीले भनिन्,‘झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो।’

त्यस बेलाको कुरालाई स्मरण गर्दै उनले नेकपा मिलाउन धेरै कोसिस गरेको बताइन्। आफूले राष्ट्रपति रहँदाको बखत एमाले मिलाउने प्रयास गरेको तर राजनीतिका लागि भन्दा पनि देशका लागि लागिपरेको दाबी गरिन्। ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ। हिजो एमालेको नेता हुनुहुन्थ्यो। एमालेचाहिँ किन नमिलाएको भन्ने पर्न सक्ला। कोसिस त मैले धेरै गरेको। मैले एमालेको लागि होइन देशका लागि गरेको जनतालाई सम्झेर। राजनीति भनेको राष्ट्रसेवा हो। यो व्यवसाय होइन। समाजसेवा, राष्ट्रसेवा हो,’ उनले भनिन्। 

त्यस्तै उनले उक्त कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा आएका विचलनबारे चर्चा गरिन्। उनले आफू एमालेको सक्रिय राजनीतिमा रहेका बेला २०५४ सालमा एमाले विभाजनबारे खेलेको भूमिकाप्रति प्रकाश पारिन्। उनले आफूले त्यस बेला पार्टी फुटाउने वामदेव गौतमलाई पार्टी विभाजन नगर्न आग्रह गरेको बताइन्। तर आफूले पार्टी विभाजनले राजनीति खरानी जस्तो हुने बताए पनि नमानेको कारण अहिले दलका नेता हुने मान्छे (वामदेव) खरानी भएको टिप्पणी गरिन्। 

‘पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भनेँ तर मान्नुभएन, अहिले खरानी भएका छन्। सिंगो दलका नेता हुने मान्छ,’ उनले भनिन्।

भण्डारी राष्ट्रपति हुँदा एमाले नेताहरुसँग बढी लचक रहेको भन्ने आरोप लाग्ने गरेको थियो। उनले एमालेभित्रको आन्तरिक किचलो शीतल निवासमा बोलाएर मिलाउने गरेको आरोप उनीमाथि लाग्दै आइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:३५
Weather Update