News Griha :: न्यूजगृह
सांसद पौडेलको प्रश्नः एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भयो?

काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा  गर्न आग्रह गरेका छन्। 

सांसदहरुले बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गरेका छन्। 

बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले एसईईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गरे।

त्यस्तै उनले एसईई परीक्षामा विद्यार्थी फेल भएको हो कि सरकार फेल भएको भन्ने प्रश्न उठ्ने बताए।

‘५२ प्रतिशत भन्दा बढी ग्रेडिङभित्र परेन। ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो,’ उनले भने।

पौडेलले २ लाख ४२ हजार ३१३ जना मानिसलाई  सरकारले  तिमी अयोग्य हौ, पढेर खान सक्दैनौँ र उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गरेको बताए।

बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताए।

उनले भने भने, ‘उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान्। शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ। यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन्। कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन?’

त्यस्तै सांसद रेखा यादवले एसईईको परीक्षामा के कारणले विद्यार्थी असफल यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने बताइन्।  

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:२५
Weather Update