
काठमाडौं— नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स घोटला प्रकरणमा आफू नमुछिएको भन्दै बचाउ गरेका छन्।
टेरामक्सको भ्रष्टाचार काण्डमा उनीसहित केही कांग्रेस सांसद मुछिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने तयारीको चर्चा चलिरहेका बेला उनले आफ्नो बचाउ गरे।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले संसद्मा त्यसको बारेमा निरन्तर आवाज उठिरहेको भन्दै आफूले उचित समय आएपछि जवाफ दिने बताए।
‘मलाई पनि टेरामक्सको कुरा लिएर बेलाबेलामा आरोप आइरहेका छन्। यसमा तीन जना सांसदको नाम मुछिएको छ। कलिला ओठ निचोरे दूध आउने माननीयदेखि दाह्रीजुँगा फुलेका सबैले यो कुरा यहाँ उठाइराख्नु भएको छ। उचित दिन आएछ भने म यसको जवाफ दिन्छु,’ उनले भने।
टेरामक्स विधिले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरणलाई नियन्त्रण गर्ने बताउँदै नेपालमा कल बाइपास गरेर वार्षिक २५ अर्ब भन्दा बढी राजस्व घोटला हुने गरेको बताए। साथै आफूले त्यसलाई रोक्न आँट गरेको समेत उनको दाबी रहेको छ।
‘संसारभर यही विधिले नियन्त्रण गरेको छ। त्यसैले यहाँ ठगी गर्ने धन्दा भएको छैन। नेपालमात्रै यस्तो देश हो, जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला भएको छ। त्यसैले मैले आँट गरेर यो सुरुवात गर्न खोजेको हुँ,’ उनले भने, २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ढाकछोप गर्न खोजिएको हो, त्यो भविष्यले बताउँला। टेरामक्स नेपालका लागि अर्बौं रुपैयाँ राजस्व जोगाउने मन्त्र हो। यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ।’