News Griha :: न्यूजगृह
बालेन र वडाध्यक्षको टकराबले काठमाडौं महानगरको नगरसभा बैठक स्थगित 
फाइल तस्बिर

काठमाडौं— काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ।

गत सोमबार महानगरले ल्याएको नीति तथा कार्यक्रमबारे आजबाट छलफलका लागि मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभा बैठक बोलाएका थिए। तर राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि र स्वतन्त्र रुपमा निर्वाचित बालेनबीच मतभेद हुँदा नगरसभा बैठक स्थगित भएको हो।  

मेयर बालेनले सोबारे सामाजिक सञ्जालमा लेख्दै कांग्रेस र एमालेका जनप्रतिनिधिहरुको कारण नगरसभा बैठक स्थगित हुन पुगेको बताएका छन्।  

त्यसो त बजेट र नीति तथा कार्यक्रमबारे जनप्रतिनिधिहरुले संशोधन प्रस्ताव हालेका थिए तर त्यसलाई मेयर बालेनले स्वीकार नगरेपछि बैठक स्थगित हुन पुगेको हो।  

मेयर बालेनले भने कांग्रेसले वीपी कोइराला र एमालेले मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम ल्याएको तर आफूले नमानेको बताएका छन्। आफूले चार शहीदहरुको बारेमा ती कार्यक्रम गरौँ भन्दा उनीहरुले नमानेको भन्दै नगरसभा बैठक बहिस्कार गरेर गएको बताए। 

‘एमाले काङ्ग्रेसले वीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नभयो। मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ। सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला।त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि कार्यपालिका बैठकमा महानगरभित्रका विभिन्न विषयलाई लिएर कार्यपालिका सदस्य र मेयर बालेनबीच टकराब हुँदै आइरहेको छ।  

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:५४
Weather Update