
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए।
'हजारौँ महान् शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,' प्रधानमन्त्री प्रचण्डले भने, 'यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ।'
प्रधानमन्त्री प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताए। सकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्धत रहेको उल्लेख गरे। उनले कम्युनिष्टहरूले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए।
उनले भने, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। कुनैपनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो। धेरै भएको छ तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन। त्यो पनि सत्य हो। तर नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कँही न कँही यस भाष्यलाई अगाडि बढाउन उद्धत छ। कम्युनिष्टहरूले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ।’
कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।