News Griha :: न्यूजगृह
यस वर्ष पनि काठमाडौं महानगरले कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने [सूचनासहित]

काठमाडौं— यस वर्ष पनि काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। 

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन आह्वान गरेको हो। 

गत वर्ष पनि महानगरपालिकाले काठमाडौंका निजी कलेजमा झण्डै ४ हजार जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। शिक्षा नियमावलीमा निजी विद्यालयहरूले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ।

यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो।

यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ। परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ।

विद्यालयगत छात्रवृत्तिको कोटा विवरण र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशित गरिने महानगरपालिकाले जनाएको छ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षाको नतिजा प्रकाशित नभइ कलेजमा भर्ना नहुन पनि महानगरले अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:२८
Weather Update