News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद थाल्न तीन दल सहमत

काठमाडौं— प्रमुख तीन दल सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन्।

बालुवाटारमा बिहीबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री पदम गिरीले जुन जुन बुँदामा सहमति भएको छैन तिनीहरूलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे नेताहरू एकमत भएको बताए।

‘जहाँ पुगेको छ, त्यहीबाट संवाद सुरु गर्ने भन्ने भएको छ’, कानुनमन्त्री गिरीले भने, ‘छिटो गरौँ भन्ने छ।’

प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।

समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए। तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषयले प्राथमिकता पाएन।

गठबन्धन फेरिएको चार महिनापछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूबीच संवाद भएको हो।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:४९
Weather Update