-1719486204.jpg)
काठमाडौं— सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दूध किसानहरुको समस्याबारे संसद्मा आवाज उठाएका छन्।
आज बसेको प्रतिनिधि सभाको विशेष समय मागेर बोलेका पूर्वमन्त्री समेत रहेका बास्कोटाले भुक्तानीको आशामा रहेका दूध किसानहरुको पक्षमा आवाज उठाएका हुन्।
केही महिनायता देशभरका किसानहरुले दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगबाट ५ अर्ब भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ।
आफूहरुको दूधको पाउनुपर्ने भुक्तानीको माग गर्दै केही दिनअघि किसानहरुले दुग्ध विकास संस्थानको कार्यालय लैनचौर घेराउ समेत गरेका थिए।
तर त्यति गर्दा पनि सरकारले किसानको माग सम्बोधन नगरेको भन्दै सांसद बास्कोटाले फ्रान्सको उदाहरण दिँदै किसानहरुले आफ्नो माग सम्बोधनका लागि गार्ईवस्तु सडकमा ल्याउन पर्ने हो कि भन्दै प्रश्न गरे।
‘किसानले के गर्ने फ्रान्समा जस्तो ट्रयाक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईवस्तु ल्याएर सडकमा छोड्नुपर्ने हो कि, के ग¥यो भने न्याय पाउँछन्?,’ बास्कोटाको प्रश्न थियो।
धेरै मानिसहरु विदेश पलायन भइरहेको अवस्थामा नेपालमै केही गरौँ भनेर बसेका किसानहरुलाई पनि भुक्तानी नदिएर अप्ठेरामा पार्ने हो भने सरकारको लोकप्रीयता, जवाफदेहितामा प्रश्न उठ्ने बताए।
उनले भने, ‘यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ।’
त्यस्तै उनले दुग्ध विकास संस्थानको नेतृत्वका लागि पछिल्लो समय भइरहेको हानथापका विषयमा समेत प्रश्न उठाए। उनले प्रश्न गरे, ‘दुग्ध विकास संस्थानको समस्या के हो त्यसको क्षमता विकासको कुरा के हो, स्टोरेजको कुरा, वितरण प्रणालीको कुरा के हो, कर्मचारी नियुक्ति र अधिक दरबन्दीको कुरा के हो?’
त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) मा रहेको दूधको मौज्दात नेपाली सेना र नेपाल प्रहरीलाई बिक्री गर्न सकिने, चकलेट उद्योगमा दिन सकिने सम्भावनाहरुको बारेमा खोजी गर्नुपर्नेमा बास्कोटाको जोड थियो।