News Griha :: न्यूजगृह
राजदूत फिर्ताबारे कांग्रेस रुष्ट– आफैँले फिट गरेको ‘डाइनामाइट’ फड्किएर चट्टान फुट्ला

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी) ले विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाए।  

उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बन्धलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए।  

उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन्।

नेता साउदले भने, ‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ। प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो। यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ,’ उनले भने। 

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन र विश्व शक्तिसँग अपरिपक्क कुटनैतिक व्यवहार गरिराखेको बताए। उनले बीआरआईबारे प्रधानमन्त्रीले छलफल गरिरहेको भन्ने विषयमा प्रतिपक्षसँग संवाद र छलफल नै नभएको उल्लेख गरे। 

साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्। 

‘राष्ट्र निर्माता पृश्वीनारायण शाहले ‘नेपाल दुई ढुंगा बीचको तरुल हो’ भनेर भन्नुभएको थियो। त्यसको मापन उडाउने प्रयत्न गरिएको छ। पृश्वीनारायण शाहले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो बलियो थिए तर, निर्जिव थिए। तरुल गतिशील थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो। तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामाइट फिट गरेर राख्ने प्रयत्न गरेको छ,’ उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहान्छु, सरकारलाई पनि सचेत गर्न चाहान्छु कि भोलीका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ। ढुंगालाई क्षति पुर्याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन। यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ।’ 

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौँ भन्ने सन्देश दिने र त्यसलाई सत्ता समिकरण बनाउन प्रयोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौं भन्ने कच्चा कुटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे। उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै नेपालले कुटनीतिक व्यवहार गर्दा अग्रजहरुको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औँल्याए। 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:०८
Weather Update