
काठमाडौं— नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबार बस्ने भएको छ।
बिहीबार दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामावली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने पनि उनले बताए।
यही असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ।
यसैबीच एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुईसय स्वयंसेवक परिचालन गर्ने भएको छ। पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो।
महाधिवेशनस्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापन लगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिए।
पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ। उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ।
पार्टी तथा जनसङ्गठनका सबै तहका कमिटीले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुने गरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको छ।
पार्टीले देशभरबाट १ हजार ८४९ प्रतिनिधि छनोट गरेको छ। छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने सो पार्टीले जनाएको छ।