News Griha :: न्यूजगृह
विशेष समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण 
फाइल तस्बिर

काठमाडौं— सहकारीको रकम ठगी प्रकरणबारे छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सहकारीको विवरण माग गरेको छ। 

आज बसेको विशेष समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीको विवरण माग गरेको हो। 

गत जेठ १५ गते गठित विशेष छानबिन समितिले मिहिन ढंगले काम गरिरहेको छ। यसअघि नै समितिले विभिन्न पक्षसँग समेत छलफल गरेको थियो।

आज बसेको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका संयोजक सूर्यबहादुर थापाले बैठकपछि जानकारी दिए। 

‘त्यसमध्ये ती सहकारीहरू (९ वटा सहकारी) को पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरेका छौँ। र विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति पनि मगाउने निर्णय भएको छ।’

त्यस्तै उनले आफूहरुले मिहिन ढंगले काम गरेको र त्यसको तथ्यमा पुगेर ‘दुधको दुघ पानीको पानी’ छुट्टयाउनेगरी काम गरिरहेको बताए। 

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी फोरके (हा बन्द) का सञ्चालक जिबी राई हाल फरार रहेका छन्। हालका गृहमन्त्री रवि लामिछाने समेत सोही संस्थामा आवद्ध रही छाडेका थिए। गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका कारण त्यसमा गृहमन्त्रीको समेत हात रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले छानबिन समिति बनाउन माग गरेको थियो। 

लामो रस्साकस्सीपछि गठित समितिलाई ३ महिनाको समय दिइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:११
Weather Update