News Griha :: न्यूजगृह
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौं— २०७२ साल १२ वैशाख शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो ।

उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । मंगलबार त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ ।

काठमाडौंलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् ।

बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुन लागेको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सहरी विकासमन्त्री सीता गुरुङलगायत सरकारी अधिकारीहरूको सहभागिता हुने जनाइएको छ । 

भूकम्प र ज्यान गुमाएकाहरूको स्मृतिमा निर्माण गरिएको स्मृति उद्यानको काम पूरा नभएको र पहिराले क्षतिको जोखिम बढाएकाले आज सो विषयमा समेत मन्त्रीहरूसँग छलफल र ध्यानाकर्षण गराउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट हुने क्षति न्यूनीकरणका विषयमा दुईदिने कार्यशाला आयोजना गरेको छ ।

भूकम्पको केन्द्रविन्दु बारपाक काठमाडौंबाट ८० किलोमिटर उत्तर–पश्चिममा पर्छ । यो भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ । उक्त भूकम्पले काठमाडौं उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो ।

यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो । उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो ।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२:३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो ।

भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए । पुनश्चः १३ वैशाखमा  सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर गएको ६.९ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्‍याे ।

भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवम् हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो ।

त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि वि.सं.१९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०८:१५
Weather Update