News Griha :: न्यूजगृह
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे सेनाका शीर्ष कमान्डरलाई बर्खास्त 
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की। फाइल तस्बिर

काठमाडौं — युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेनाका कमान्डरलाई बर्खास्त गरेका छन्।

युक्रेनी सेनातर्फ भएको क्षतिका आधारमा सार्वजनिक रूपमा तीव्र आलोचना भएपछि राष्ट्रपति जेलेन्स्कीले लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेका हुन्। सोडोल यसै वर्षको सुरुवातमा युक्रेनी सैन्य बलको संयुक्त कमान्डर नियुक्त भएका थिए।

उनको ठाउँमा ब्रिगेडियर जनरल एन्ड्री ह्नातोवलाई नियुक्त गरिएको छ। राष्ट्रपतिले सैन्य कमान्डर हेरफेरको कारण भने खुलाएका छैनन्। सोमबार राति राष्ट्रपति जेलेन्स्कीले सैन्य कमान्डर फेरबदल गरेका हुन्।

बीबीसीका अनुसार पछिल्लो समय युक्रेनी सेनामा धेरै नै जिम्मेवारी हेरफेर भएको छ। २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि जनरल सोडोले मरिउपोल सहरको रक्षामा कमान्ड सम्हालेका थिए।

त्यस्तै भोल्नोवाखा सहरमा पनि उनकै नेतृत्वमा युक्रेनी सेनाले रुसविरुद्ध युद्ध लडेको थियो। यी दुवै ठाउँ अहिले रुसी सेनाको नियन्त्रणमा रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २०:३०
Weather Update