News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं— उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन्। 

इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन्। 

मंगलबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको राष्ट्रिय हित, नीति एवं नेपालको विदेश नीति अनुरुप नेपालमा रहेका सम्पदाको संरक्षण र संवद्र्धनका निम्ति एसिया स्वायत्त राष्ट्रको ध्याकर्षण गरेको बताए। 

त्यस्तै, आगामी अक्टोबरमा कतारमा आयोजना हुने एसिया सहयोग संवादको शिखर सम्मेलनको तयारी र यस संगठनको सचिवालयको सुदृढीकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्ने लगायतका विषयमा छलफल बैठकमा छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘एसियाली मुलुकहरुबीच एशिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष जुन महिनामा मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको छ । सदस्य मुलुकहरुको सार्वभौमिकता, आन्तरिक क्षमता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै क्षेत्रिय अन्तर आवद्धता अभिवृद्धि गर्ने, सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार गर्ने लगायतका विषयहरू सो घोषणापत्रमा समेटिएको छ।’

त्यसैगरी, मन्त्रीस्तरीय बैठकमा गाजा क्षेत्रमा उत्पन्न मानवीय संकट प्रति गहिरो चासो व्यक्त गर्दै गैरकानूनी रुपमा बन्धक बनाइएका व्यक्तिहरुको यथाशिघ्र र बिनाशर्त रिहाई गर्न, युद्धग्रस्त क्षेत्रमा मानवीय सहयोग र उद्धारलाई बढवा दिन र विवादको दिगो र शान्तिपूर्ण समाधानका लागि पहल गर्न समेत उक्त घोषणापत्रमा अपिल गरिएको समेत श्रेष्ठले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:११
Weather Update