News Griha :: न्यूजगृह
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै ‘रातो किताब’ बाहिरियो, कांग्रेसको आपत्ति 

काठमाडौं— सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को योजनासहितको बजेट पुस्तिका (रातो किताब) सार्वजनिक भएको पाइएको छ।  

गत असार १ गते सरकारले प्रदेश सभामा पेस गरेको बजेटबारे छलफल नै नगरी बाहिर आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको हो। सरकारले त्यसलाई अहिलेसम्म आधिकारिक रुपमा बाहिर नल्याउँदा त्यसको डिजिटलप्रति भने विभिन्न व्यक्तिको मोबाइलमा आएको हो। 

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै पूर्व मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सरकारले गम्भीर लापरबाही गरेको आरोप लगाए। 

शाहले विगतमा यस्तो कुरा उठ्दा अर्थमन्त्रीले राजीनामा दिएको स्मरण गर्दै मुख्यमन्त्रीको राजीनामा समेत माग गरे। 

‘नैतिकताको आधारमा राजीनामा दिनु पर्छ र सरकार छोड्नु पर्छ। विगतमा यस्ता कुरा उठ्दा अर्थमन्त्रीले राजीनामा दिएको इतिहास छ। उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गरेर कानुन अनुसार कारबाही हुनुपर्छ,’ शाहले पत्रकार सम्मेलनमा भने।

त्यस्तै पूर्व मन्त्री समेत रहेका कांग्रेस सांसद प्रकाश देउवाले सरकारले बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि बजेट किताब नआउनु विडम्बनापूर्ण विषय रहेको बताए। सरकारले सार्वजनिक नगर्ने तर अन्य व्यक्तिको मोबाइलमा योजनाका कुरा आउनु सामान्य विषय नभएको जिकिर गरे। 

उनले भने, ‘यो भन्दा पहिलेको सरकारहरूले पहिलो सातामै बजेट पुस्तिका सार्वजनिक गर्ने गरेको थियो। तर, यो सरकारले दुई साता सम्म पनि यो सरकारले बजेट पुस्तक ल्याएको छैन। यो दुर्भाग्य हो। सरकारले सार्वजनिक नगर्ने तर, विभिन्न व्यक्तिका मोबाइलहरूमा योजनाका कुराहरू आउने कुरा ठिक भएन।’

उनले रातो किताब सार्वजनिक भएको विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए। तर बजेटको डिजिटल प्रति कसरी बाहिरियो भन्दै सरकारले त्यसबारे आफ्नो धारणा भने सार्वजनिक गरेको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:४९
Weather Update