News Griha :: न्यूजगृह
माधव नेपालको दाबी– हामीले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्कायौँ 

काठमाडौं— नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुले विद्रोहको ज्वाला दन्काएको  दाबी गरेका छन् । 

मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन्। 

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ। विद्रोह गर्ने आँट गरेका छौँ। विद्रोहको ज्वाला दन्काएका छौँ। एक्लै भएपनि अगाडी बढ्ने प्रयास गरेका छौँ। हाम्रो साथमा देशभरिका नेता र कार्यकर्ताहरु जुट्दैजुट्दै ७७ वटै जिल्लामा संगठन विस्तार गर्दै अगाडी बढेका छौँ। राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलेको भूमिकाप्रति हामीले गर्व गर्नुपर्छ। राष्ट्रिय राजनीतिमा हामीले खेलेको भूमिकाप्रति गौरव गर्नुपर्छ। राष्ट्रिय राजनीतिका सबै शक्तिहरूलाई हामीले राम्रोसँग चिनेको छौँ। हामीले समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेको छ। अरू पार्टीले यस्तो कार्यक्रम ल्याएका छैनन्।’ 

पार्टीका भातृ संगठनहरुलाई व्यवस्थित गरेर अगाडि सार्ने एकमात्र पार्टी नेकपा एस रहेको अध्यक्ष नेपालको भनाइ थियो। उनले समाजवादी मोर्चालाई नयाँ शिराबाट अगाडी बढाउन समेत छलफल भइरहेको बताए। 

‘विभिन्न कम्युनिष्ट पार्टीहरूसँग हाम्रो संवाद भइरहेको छ। समाजवादी मोर्चा बनाउँदै अघि बढेका छौँ। आजै पनि विभिन्न समूहसँग कुरा भएको छ। नयाँ शिराबाट त्यसलाई अगाडि बढाउनुपर्छ। देशभरिको समाजवादी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ’, उनको भनाइ छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:२९
Weather Update