-1716722014.jpg)
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ०८४ को निर्वाचनसम्म कांग्रेस सरकार बाहिरै बसेर संगठन सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिएका छन्।
उनले आगामी निर्वाचनसम्म कम्तीमा सय सिट जित्नेगरी जानुपर्नेमा जोड दिए।
मंगलबार पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।
उनले भने, ‘धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरिकन गयौं भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ।’
त्यस्तै अहिले एमाले माओवादी र रास्वपा लगायतका दलहरुले चलाइरहेको सरकारप्रति आँखा लगाउन नहुनेमा पनि जोड दिए। सरकारलाई खबरदारी गर्र्दै अबको बाँकी समय पार्टी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ। एमाले, माओवादी, घण्टी, बण्टी जोजोले चलाएका छन्, चलाउन दिऔं, चलाउन्। सरकारतिर हामी हेर्दै नहेरौँ। र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ। तलैबाट पार्टीको एकता पनि गरौँ। हार्दिकता पनि बढाऔं।’
त्यस्तै सरकार चलाउन आफूसँग जादुगर नम्बर रहेको बताउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गतिविधिलाई चासोका साथ हेरिरहेको बताए। त्यस्तै अहिले कांग्रेसले सरकारमा खटपट आउने बित्तिकै मिलेर सरकार बनाउने चाहना राख्न नहुने बताए।
‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ,’ उनले भने, ‘म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ। यो उहाँहरुकै जिम्मा हो। यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौं।’
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीका भातृ संगठनका अध्यक्षहरुलाई समयमा नै महाधिवेशन गर्न निर्देशन दिए। यदी समयमा नै महाधिवेशन गर्न नसक्ने हो भने बिदाबारी हुन समेत आग्रह गरे।