-1719305441.jpg)
काठमाडौं— प्रहरीले भक्तपुरको सूर्यविनायकस्थित ददिकोटमा एक व्यक्तिको घरबाट २ करोड नगद चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन्।
गत असार ४ गते उनीहरुले आफूहरु केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्ईबी) बाट आएको भन्दै ददिकोटका डिल्लीराज राउतको घरबाट २ करोड लुटपाट गरेका थिए। रकम लुटिएको उजुरी प्रहरीमा परेपछि उनीहरुको खोजी कार्य तीव्र पारिएको थियो। सो क्रममा उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको पत्रकार सम्मेलनमा कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।
पक्राउ परेका मध्ये कृष्णबहादुर बोहरा नेपाल प्रहरीका बहालवाला हवल्दार हुन्। उनी ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको बताइएको छ।
उनीहरुले लुटेको उक्त रकम भीमबहादुर तामाङ बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनीहरुको साथबाट बरामद गरिएको विभिन्न सामग्री समेत प्रहरीले सार्वजनिक गरेको छ।













