News Griha :: न्यूजगृह
७ वर्ष जेलपछि छुटेका महर्जन मानव बेचबिखन कार्यमा संलग्न, पुनः पक्राउ 

काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभनमा दुबई पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जन रहेका छन्।  

विशेष सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले महर्जनलाई गौशालाबाट पक्राउ गरेको हो।

पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा गत चैत १९ गते दुबईबाट उद्धार गरेको थियो।   

त्यसपश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यू पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई गत फागुन ७ गते दुबई पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। साथै उनीहरुलाई बिना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:११
Weather Update