News Griha :: न्यूजगृह
रुसी सेनामा गएका नेपालीबारे प्रधानमन्त्रीको जवाफः सरकारले कसैलाई भर्ती हुन पठाएको होइन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पठाएर कोही पनि रुसी सेनामा नगएको प्रतिक्रिया दिएका छन्। उनले सरकारले पठाएर र सरकारसँग समन्वय गरेर नगए पनि त्यहाँ पुगेका नेपालीहरुलाई फर्काउने प्रयास भइरहेको बताए। 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमा परराष्ट्र मन्त्रालयबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रालयको कार्यभार आफैँले राखेका छन् भने त्यसबारे उठेका प्रश्नको जवाफ उनले दिएका हुन्।  

बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रुसी सेनामा नेपालीहरु भर्ती भएको र त्यहाँ नेपाली मारिँदा पनि सरकार नभएको भन्दै प्रश्न गरेका थिए। 

नेपालमा प्रधानमन्त्री छैन कि? भन्ने शाहीको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘नेपालमा प्रधानमन्त्री छ। त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ। त्यसकारण सरकारले पठाएर त रुसी सेनामा नेपाली गएका होइनन्। जे भए पनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्दमा मारिनु दुःखद कुरा हो र सरकारले जिम्मेवारी पूर्वक र म अझ जोड दिएर भन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहान्छु, राति १२ बजे रुसी सेनाको मोर्चामा भएका नेपालीहरुसँग मैले फोनमा कुरा गर्ने गरेको छु र उनीहरुलाई फिर्ता ल्याउनेबारे त्यहाँ भएकाहरुसँगको समेत राय लिएको छु। यस्तो प्रधानमन्त्री हेर्नुहोला तपाई कुनै दिन प्रधानमन्त्री बन्नुभएछ भने तपाईले के गर्नुहुन्छ म पनि हेर्न चाहान्छु।’

त्यस्तै धेरै सांसदहरुले राजदूतको नियुक्ति र फिर्ता बोलाउनेबारे प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले नगरेको भए राम्रो हुने भए पनि राजनीतिक सहमतिकै आधारमा राजदूत हेरफेर गरेको बताए। साथै यसअघिको परम्परा अनुसार नै राजदूत फिर्ता गर्ने निर्र्णय गरिएको स्पष्ट पारे। 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:५१
Weather Update