-1718871003.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुन्।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए।
नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी बताए।
उनले नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका पनि बताए।
उनले भने, ‘केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हटलाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ। साउदी अरब लगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ। नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन्।’
राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याइरहेको बताउँदै राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने पनि उनको भनाइ छ।
उनले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित बनाइएको जानकारी दिए। उनले भने, ‘राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन संकलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।’













