
काठमाडौं— पछिल्ला दिनहरुमा प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका विनियोजन विधेयक (बजेट) बारे छलफल चलिरहेको छ।
कतिपय मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुका बारेमा मन्त्रीहरुले जवाफ दिइसकेका छन् भने केही मन्त्रालयमाथिको छलफल र मन्त्रीको जवाफ बाँकी रहेको छ।
बिहान ११ बजेका लागि बोलाइने बैठक राति अबेरसम्म पनि चलिरहन्छ, जहाँ बजेटबारे सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरुले जवाफ दिँदै आइरहेका छन्।
तर सोमबारको बैठकमा भने अलि फरक दृष्य देखियो। सोमबार साँझ गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयबारे उठेको प्रश्नको जवाफ दिए। त्यसपछि परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफल मा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो। तर परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका कारण उनको कार्यभार प्रधानमन्त्रीले सम्हालेको जानकारी सभामुखले संसद्मा गराएका थिए। उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन उर्जामन्त्री शक्तिबहादुर बस्नेतले दिने उपसभामुख इन्दिरा रानाले जानकारी गराएपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आपत्ति जनाए।
सो क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले बिहान सभामुखले कार्यभार प्रधानमन्त्रीले सम्हालेको जानकारी गराएको स्मरण गराउँदै कार्यभार एउटाले सम्हाल्ने र अर्काले जवाफ दिने कुरा उचित नहुने भन्दै पश्न खडा गरे।
उनले प्रधानमन्त्रीले जवाफ दिनेगरी कार्यसूची सार्न आग्रह गरे।
त्यस्तै सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले विनियोजन विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरुले नै दिनुपर्नेमा जोड दिए।
संसद चलिरहेको अवस्थामा आफ्नो मन्त्रालयसँग उठेको जवाफ दिन मन्त्री विदेशबाट भए पनि आउनुपर्नेमा जोड दिए। तर आउन नसकेको अवस्थामा कार्यभार तोकिएको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए। सम्बन्धित मन्त्रीले जवाफ नदिएमा त्यो काम चलाउ जस्तो मात्रै देखिएको बताए। साथै प्रधानमन्त्रीलार्ई कार्यभार दिने र जवाफ अर्को मन्त्रीले दिने कुरा असान्दर्भिक हुने बताए।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आकस्मिक रुपमा कार्यभार पाएको मन्त्रीले सम्बन्धित मन्त्रीले सही जवाफ दिन नसक्ने बताए। उनले प्रधानमन्त्रीले सबै मन्त्रालयको नेतृत्व गर्ने भएपछि प्रधानमन्त्रीले नै जवाफ दिनुपर्नेमा जोड दिए। साथै अर्को दिन प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।
त्यसपछि संसद्को कार्यसूची हेरफेर गरिएको छ। जसकारण भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन्।