News Griha :: न्यूजगृह
सांसदहरुलाई गृहमन्त्रीको जवाफ– गिरीबन्धु टी–स्टेटबारे प्रहरीले उजुरी कुरेर बसेको छ 

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणबारे प्रहरी अनुसन्धानको तयारीमा रहेको बताएका छन्। 

सोमबार आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको पश्नको जवाफ दिँदै सो कुरा बताएका हुन्।

सांसदहरुले सत्तारुढ दलकै नेताहरु मुछिएको उक्त काण्डबारे गृहमन्त्रीले छानबिनको दायरामा ल्याउन नसकेको भन्दै सांसदहरुले प्रश्न गरेका थिए। सो प्रश्नमा गृहमन्त्री लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उजुरी कुरेर बसेको जानकारी गराए। 

गृहमन्त्री लामिछानेले भने, ‘नेपाल प्रहरीलाई र नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई गिरिबन्धु टी–स्टेटको बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ र केन्द्रीय अनुसन्धान ब्यूरो गिरिबन्धु टी इस्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ।’

यसअघि नै सर्वोच्च अदालतले गिरीबन्धु जग्गाबारे तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै अनुचित लाभको आधारित निर्णय भनेको थियो। त्यसमा सत्तारुढ दलका मुख्य नेता ओली मुछिएको भएका कारण गृहमन्त्री त्यसको छानबिन गर्न डराएको टिप्पणी सांसदहरुले गर्ने गरेका छन्। 

आजको बैठकमा पनि उक्त जग्गा प्रकरणबारे उठाइएको प्रश्नबारे गृहमन्त्रीले भने, ‘कुनै पनि काण्डका विषयमा डराउनुपर्ने नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन, मेरो शीरमा छैन।’ 

त्यस्तै उनले अन्याय र अत्याचारलाई शून्य सहनशीलताको नीति अख्तियार गरेर अघि बढ्ने धारणा समेत व्यक्त गरे।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:४२
Weather Update