News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं— आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ। 

सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहनेगरी सञ्जिबकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय भएको छ। 

सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। 

त्यस्तै, सरकारले आजदेखि बुधबारसम्म काठमाडौंमा हुने नेपाल र चीनबीच द्धिपक्षीय परामर्श संयन्त्रको सोह्रौं बैठकमा सहभागि हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरि उक्त बैठकको कार्यसूची स्विकृत गर्ने निर्णय समेत गरेको छ। 

मन्त्री शर्माले, भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको सिफारिसमा धादिङमा १५ शय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासको भवन निर्माण र सरावन गाउँपालिकाको वडा कार्यालय तथा प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्विकृती दिने निर्णय गरेको जानकारी दिएकी छिन्। 

उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई वैदेशीक भ्रमणका लागि स्विकृती दिएको जानकारी पनि दिएकी छिन्। 

उनले भनिन्, ‘युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा असार १४ देखि २० गतेसम्म गणतन्त्र कोरियाको सियोलमा आयोजना हुने कार्यक्रमका लागि युवा तथा खेलकुदमन्त्रीको वैदेशीक भ्रमण स्विकृत गर्ने निर्णय गरेको छ।’

त्यसैगरी, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो। 

‘मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वत निलम्बनमा पर्नुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निणर्य भएको छ’, शर्माले भनिन्। 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:३०
Weather Update