News Griha :: न्यूजगृह
मंगलबारबाट मौसममा सुधार आउने

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारबाट मौसममा सुधार आउने बताएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको महाशाखाको भनाइ छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको थियो ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालमा वर्षा गराएको र मंगलबारदेखि न्यूनचापीय प्रणाली कमजोर भएर मौसममा क्रमिक सुधार आउनेछ ।

पश्चिमी वायुको प्रभाव रहिरहने हुनाले आगामी दिनमा विशेषगरी देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

महाशाखाले मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:०८
Weather Update