News Griha :: न्यूजगृह
बालेनप्रति खनिए नगरसभा सदस्यहरु 

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति नगरसभा सदस्यहरुले कटाक्ष गरेका छन्। 

महानगरको जारी १५औँ नगरसभा अन्तर्गत सोमबारको बैठकमा नगरसभा सदस्य (कार्यपालिका सदस्य) हरुले कटाक्ष गरेका हुन्। 

नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयर बालेनले केही समय अघि सिंहदरबार जलाउँछु भनेको विषयलाई लिएर आक्रोश व्यक्त गरिन्। उनले आफ्नो व्यक्तिगत रिसइबीले सिंहदरबार जलाउँछु भन्दा सरकारले महानगरलाई दिएको दरबार जनताले जलाउँछु भनेको भए कस्तो हुन्थ्यो भन्दै प्रश्न गरिन्। 

‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ त्यो कुर्सीको अधिकार संविधान र कानुनले दिएको हो। जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो। व्यक्तिगत रिसइबीमा सिंहदरबार जलाउँछु भन्ने तपाईँलाई तपाईँ बस्ने भव्य दरबार, जहाँ ऐश आराम गरिरहनुभएको छ महानगरबासीले जलाए भने के हुन्छ? दलको विकल्प दल हुन्, व्यक्ति हुन सक्दैन,’ उनले भनिन्।

त्यस्तै आजको बैठकमा काठमाडौं महानगरपालिका २२ का वडाध्यक्ष चीनकाजी महर्जनले ‘फ्रिडम फर स्पीच’ लाई दबाउन खोजेको भन्दै कटाक्ष गरे। 

उनले यसअघि आफू नेपालमा भएका विभिन्न आन्दोलनहरुमा बोल्नका लागि नै लडेको भन्दै त्यसलाई दबाइन नहुने भन्दै कटाक्ष गरे। 

‘...अझै पनि विरोधका आवाजहरू दबाइन्छ, विरोध सुन्न तयार छैनन्, फरक मत र विमति राख्नेलाई दवाउन खोजिन्छ भने जिन्दाबाद होइन, मुर्दाबाद भन्न चाहन्छु। ती विरोधका आवाज सुन्न नचाहने सबै मुर्दाबाद। फरक मतलाई सम्मान गर्ने, विमतिसँग सहकार्य गर्ने मेरिट अफ डेमोक्रेसीको अभ्यास अहिले हाम्रो संस्थामा वेवास्ता भएको छ। प्रमुखज्यूलाई भन्न चाहन्छु, फरक मत र विमतिका कुरा राम्रा पनि हुन सक्छन् भन्ने मनमा राखेर अगाडि बढ्दा राम्रो हुन्छ । एक्लै होइन, सहकार्यमा हिडौं। १ र १ दुई होइन ११ हुनेगरी काम गरौं,’ उनले भने। 

केही समय अघि नगरसभा बैठकमा मेयर बालेनसँग न्युरोडको सडकका विषयमा चर्काचर्की भएपछि महर्जन चर्चामा आएका थिए। 

त्यस्तै नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेनले एकटौली निणर्य गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताए।  

एमाले निकट पराजुलीले भने, ‘हेर्दा तपाइँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरुले राम्रा काममा तपाइँलाई साथ दिन्छौं। अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाँही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौं। भन्दा पनि मान्नुभएन भने रामराम भन्छौं काँध थाप्दैनौं।’

उनले अघिल्ला दिनहरुमा प्रमुख शाहलाई साथ सहयोग गरेको र आगामी दिनमा पनि राम्रा काममा निरन्तर गर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य गर्न नहुनेमा जोड दिए। सकेसम्म नगरका निणर्य प्रकृयामा सर्वसम्मतीमा जानुपर्ने उनको धारणा छ। 

पछिल्लो समय कार्यपालिका बैठकमा मेयर बालेनको कार्यशैलीलार्ई लिएर वडाध्यक्षहरुले विरोध गर्दै आएका छन्। 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:०९
Weather Update