News Griha :: न्यूजगृह
संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्न वार्ता हुँदै

काठमाडौं— विभिन्न ११ बुँदे माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधनबारे सरकारले वार्ता थालेको छ। 

अहिले संघीय संसद् भवन नयाँ बानेश्वरस्थित एक हलमा कानुनमन्त्री पदम गिरीसहित आन्दोलनरत कर्मचारीका प्रतिनिधिबीच छलफल चलिरहेको छ। 

२० दिनदेखि अतिरिक्त समयको भत्ता नदिइएको लगायत विभिन्न माग राखेर कर्मचारीहरु आन्दोलनमा रहेका छन्। उनीहरुको आन्दोलनका कारण संसद्को काम कारबाही समेत प्रभावित हुँदै आइरहेको छ। 

त्यसो त सरकारले आइतबार कानुनमन्त्री गिरीको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति बनाएको थियो। जसमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेका छन्। 

हिजो वार्ता टोली बनाइए पनि आन्दोलनरत कर्मचारीहरुले भने लिखित सहमति नभइ नहुने भन्दै आन्दोलन गरिरहेका हुन्। 

आजको वार्तामा अहिले युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी छन्।

संसद् बैठक नै प्रभावित हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायतले उनीहरुको माग सम्बोधनका लागि समिति बनाएका हुन्। 

संसद् जस्तो संवेदनशील निकायका कर्मचारीहरुकै माग सम्बोधन नभएको भन्दै संसद्मा समेत आवाज उठेको छ। सोमबार र यसअघिका बैठकमा समेत सांसदहरुले सरकारले उनीहरुको माग तत्काल सम्बोधन गर्न आवाज उठाइरहेका छन्। 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:४६
Weather Update