News Griha :: न्यूजगृह
प्रधानमन्त्रीप्रति गगनको कटाक्षः नटेर्ने मन्त्री फेर्ने, त्यो नसके आफैँ बालुवाटारबाट सर्ने 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई केन्द्र सरकारले दिएको समानीकरण अनुदान काट्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले केन्द्र सरकारले स्थानीय तहलाई बकस दिएजस्तो अनुदानमा मनलाग्दी गर्न लागेको बताए। 

त्यस्तै वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलगाउने अनि अहिले स्रोत छैन भनेर त्यसलाई कटौती गर्ने काम राम्रो नभएको उनले बताए। 

‘संघीय सरकारले बकस दिएको जस्तो गरेको छ, यसपालि पनि त्यस्तै भयो। स्रोत छैन भनेर सात प्रतिशत सम्मानिकरण अनुदान कम गरेर दिने भन्ने कुरा आएको छ। वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलगाउने अनि स्रोत छैन भनेर कटौती गर्ने? यो अस्वीकार्य छ,’ उनले भने।  

त्यस्तै स्थानीय तह र प्रदेशले हेर्ने योजना केन्द्रले नै हेर्ने गरी बजेट विनियोजन भएको भन्दै यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुले आफूलाई नटेरेको गुनासो गरेका थिए। तीन करोड भन्दा तलका योजना पनि केन्द्र मातहतले नै हेर्ने जस्तो गरी मन्त्रीहरुले राखेको भन्दै आफूले दिएको निर्देशन समेत मन्त्रीहरुले नटेरेको गुनासो प्रधानमन्त्रीको रहेको छ। 

प्रधानमन्त्रीको उक्त भनाइप्रति कटाक्ष गर्दै थापाले आफूलाई नटेर्ने मन्त्री फेर्ने र फेर्न नसकेमा आफू नै बालुवाटार र सिंहदबारबाट डेरा सरे हुन्छ भन्दै टिप्पणी गरे। 

‘प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्। यो संसदीय व्यवस्था हो, नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने,’ उनले भने। 

अहिले प्रतिनिधि सभा बैठक जारी रहेको छ। बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिइरहेका छन्। आजै बजेट पास गर्ने तयारी रहेको छ। 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:५०
Weather Update