News Griha :: न्यूजगृह
संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभा बैठकमा ढिलाइ 

काठमाडौं— विभिन्न ११ बुँदे मागसहित आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण प्रतिनिधि सभा बैठकमा ढिलाइ भएको छ। 

आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। तर असन्तुष्ट कर्मचारीहरुले प्रतिनिधि सभा भवन बाहिर विरोध प्रदर्शन गरेपछि बैठक प्रभावित भएको हो। केहीबेरअघि बैठक बसेको छ। 

उनीहरुले संसद् भवन अघि आफूहरुको माग सम्बोधन गर्न टाउकोमा कालोपट्टी बाँधेर आन्दोलन गरेका हुन्। 

उनीहरुले काम गरेको अतिरिक्त समयको भत्ता नदिइएको भन्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आज नै उनीहरुको माग सम्बोधनका लागि कानुनमन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएको हो। 

उक्त समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेका छन्। 

त्यसो त यसअघि पनि निरन्तर उनीहरुले आन्दोलन गरिरहेकोमा सभामुख देवराज घिमिरेले माग सम्बोधन गर्ने बचन दिएका थिए। तर माग सम्बोधन नभएपछि यसअघिका संसद् बैठकमा समेत उनीहरुले असहयोग गर्दै आइरहेका थिए। 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:२८
Weather Update